- जसले दुबै हात नभएपनि सगरमाथा शिखर चुमे (तस्बिरसहित)
काठमाडौं, जेठ ११ – सुदर्शन गौतमले किशोरअवस्थामै दुबै हात गुमाउनुभयो र पनि जीवनमा उहाँ कहिल्यै विचालित हुनुभएन ।
बरु उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने सपना देख्नुभयो । र, आफ्नो सपना पुरा गर्नुभयो ।
जेठ ६ गते ९ बजेर २५ मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगी उहाँले विश्व कीर्तिमानी कायम गर्नुभयो ।
रामेछापमा जन्मिएका ३१ वर्षीय सुदर्शन हाल क्यानडामा बसोबास गर्नुहुन्छ ।
‘अपाङगता सफलताको बाधक होइन’, भन्ने नारा बोकेर सगरमाथा चुचुरोमा पुगेका गौतमसँग वाल्यकालदेखि सगरमाथा आरोहणसम्म अनेकौँ सुख दुःखका कथा छन् ।
आफ्नो सगरमाथा आरोहणबारे जानकारी दिन शनिबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा गौतमले आफ्नो जीवनकथा यसरी सुनाउनुभयोः
मेरो व्यथा सुन्ने र मेरो बारेमा थाहा पाउनेहरु जब मलाई प्रत्यक्ष भेटछन्, अझै रोमाञ्चित हुन्छन् । अनि मलाई झन् नयाँनयाँ कुरा गर्न जाँगर चल्छ । साहित्यकार भएको भए मैले आफ्ना अनुभूतिलाई सुन्दर बनाएर पस्किन सक्दो हुँ ।
म रामेछापको गुन्सी भदौरे १ मा जन्मिएको हुँ । रामेछापकै शतलिङ्गेश्वर माविबाट कक्षा ९ को परीक्षा दिएर २०५१ सालमा म काठमाडौं आएको थिएँ । १३ वर्षको थिएँ ।
****
असार २१ गते बानेश्वरको थापागाउँमा अंकलको घरको छतमा रड उचालेर खेल्दै थिएँ । छतको छेउनजिकै टाँगिएको बिजुलीको तारमा छोइएपछि दुर्घटना भयो । मलाई वीर हस्पिटल लगियो । वीर अस्पतालमा डाक्टरहरुले उपचारमा त्यति ध्यान नदिएपछि सैनिक अस्पताल लगियो । डढेको हातले पछि दुःख दिनसक्छ र क्यान्सर पनि हुनसक्छ भनेर डाक्टरहरुले अप्रेसन गरी मेरो दुबै हात फालिदिए ।
मेरो होस खुल्दा मेरा दुबै हात थिएनन् । ममी बुवा छेउमा रोइरहनु भएको थियो ।
****
हात गुमाएपनि मैले हिम्मत हारिन । एक्लै भएका बेला मैले खुट्टाले लेख्ने अभ्यास गर्न थालेँ । एक हप्तामा नाम लेख्न सक्ने भएँ । एक महिनामा खुट्टाका औँलाले चेपेर हातले जस्तै सर्रर लेख्न थालिसकेको थिएँ । बिस्तारै मैले सामान्य ढंगले धेरै कामहरु गर्न सक्ने भएँ ।
आठ महिनापछि गाउँ फर्किएँ । मेरो अवस्था देखेर धेरैका आँखा रसाए । मन नमिठो पारे । मलाई निरीह ठानेर दया देखाए । म आफैले चाहिँ आफूलाई कमजोर ठानिनँ ।
****
२०५२ सालमा गोडाले लेखेर एसएलसी दिएँ । सेकेन्ड डिभिजनमा पास गरेँ । गोडाले लेखेर एसएलसी पास गरेको समाचार नेपालका प्रमुख समाचार पत्रहरुमा छापिएको थियो ।
काठमाडौँमा डेरामा बसेर गोडाले नियमित अभ्यास गर्न गाह्रो हुन्छ भनेर मेरो बुवाले ऋण–धन गरी काठमाडौंको मीनभवनमा घर बनाइदिनुभयो । म घरनजिकैको नेपाल कमर्स क्याम्पसमा पढ्न थालेँ ।
काठमाडौँमा डेरामा बसेर गोडाले नियमित अभ्यास गर्न गाह्रो हुन्छ भनेर मेरो बुवाले ऋण–धन गरी काठमाडौंको मीनभवनमा घर बनाइदिनुभयो । म घरनजिकैको नेपाल कमर्स क्याम्पसमा पढ्न थालेँ ।
पढ्ने बेलामा अरु सबै बेन्चमा बसेर पढ्थे, म साइडमा बसेर गोडाले लेखिरहेको हुन्थेँ ।
****
आइकम दोस्रो वर्ष पढ्दै गर्दा नेपाल टेलिभिजनमा अन्तरवार्ता पनि दिन पाएँ । पत्रपत्रिकामा पनि मेराबारे खुब समाचारहरु छापिन्थे । अपांगता सम्बन्धी संस्था र कार्यालयमा मेराबारे छापिएका समाचारहरु टाँसिएको देख्दा दंग पर्थेँ । गोडाले नै कम्प्युटर चलाएँ । गाडी चलाएँ ।
२०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री जेपी गुप्ता र देशविदेशका थुप्रै सञ्चारमाध्यमका पत्रकारहरुको बीचमा मैले कार चलाएर देखाएँ । त्यसपछि विश्वका करिब ४१ भन्दा बढी देशहरुमा ड्राइभिङ प्रदर्शनीमा भाग लिने, त्यहाँको वातावरण, समाजिक र सांस्कृतिक अवस्थाका बारेमा बुझ्ने अवसर मिल्यो ।
यसै भ्रमणहरुको क्रममा मैले जीवनलाई नयाँ रुपमा बुझ्न थालेको अनुभव गरेँ । त्यसपछि म नेपालका करिब दर्जनभन्दा बढी सामाजिक संस्थाहरुमा अध्यक्षका रुपमा कार्यरत भई समाज सेवामा सहभागी हुन थालेँ । त्यसै क्रममा क्यानडा सरकारबाट मलाई ‘मोटिभेस्नल गेस्ट स्पिकर’ का रुपमा त्यहाँको संस्थामा बोल्नका लागि डाकियो ।
म र मेरी श्रीमती अम्बिका हमाल दुबै जना क्यानडा गयौँ ।
****
सन् २००५ मा क्यानाडा जानुअघि एकपटक सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाका बारेमा पत्रिकामा पढेको थिएँ । मलाई पनि सगरमाथा आरोहण गर्ने इच्छा भयो । म पेम्बाको खोजी गर्न थालें । खोजेपछि नपाइने कुरा के छ र ? भेट भयो ।
उहाँले मेरो कुराप्रति सकारात्मक हुनुभयो । केही अभ्यास र परीक्षणका लागि सुरुमा साना हिमालहरु चढ्नुपर्छ भन्नुयो । परीक्षणका लागि ६ हजार उचाइ भएका याला पिक चढ्न सके सगरमाथा चढ्न सक्छौ भन्नुभयो । म पेम्बासँगै याला पिक हिमाल चढ्न गएँ । आरोहणमा म सफल भएँ । तर, दुर्भाग्यवश सगरमाथा आरोहणको लागि पैसा जुटाउन सकिनँ । सगरमाथा चढ्ने योजनालाई थाँती राखेर स्थायी बसोबासका लागि श्रीमतीसहित म क्यानडा हानिएँ ।
****
क्यानडामा हामीले खुब दुःख पायौं । दुःखभित्र सुख पनि लुकेका छन् । हामी धेरै चिसोमा बसेका थिएनौं । त्यहाँ बस्ने, खाने, हिँडडुल गर्ने लगायतका कुराहरुमा पनि हामी अभ्यस्त थिएनौं । कयौं पटक नेपाल फर्कने सोचाइ पनि आयो । तर जीवन बिस्तारै सहज बन्दै गयो ।
****
क्यानडामा पनि गाडी चलाउन मन लाग्यो । तर ड्राइभिङ लाइसेन्स लिन सहज थिएन । सरकारी अधिकारीले मन्त्रीलाई सिधै इमेल गर्न सुझाव दिए । अचम्म लाग्यो, सिंहदरबार छिर्न र मन्त्रीलाई भेट्न चार घण्टा लाइन बस्नुपर्ने तर त्यहाँ त इमेल गरेको दुई घण्टाभित्र मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आयो । सबै परीक्षण गरेर मलाई सात महिनाको परीक्षणकालको ड्राइभिङ लाइसेन्स दिइयो ।
****
हामीले क्यानडामा कार सेल्स र रेस्टुरेन्ट व्यवसाय गर्यौं । अर्को अचम्मको कुरा मलाई जतिले अन्तरवार्ता लिन बोलाउँथे, सबैले पारिश्रमिक दिन्थे । अन्तरवार्ताका क्रममा क्यानडाको नागरिकका हैसियतले सगरमाथा आरोहण गर्ने चाहना राखेको थिएँ । मैले झन् सहयोग र समर्थन पाउन थालेँ ।
क्यानाडाको राष्ट्रिय दैनिक पत्रिकाको आवरण पृष्ठमा मेलै गोडाले चिया पिएरहेको फोटोसहितको समाचार पढेर प्रधानमन्त्री स्टेफन हार्परले मलाई भेट्नुभयो र सगरमाथा आरोहणका लागि लिखित शुभकामना दिनुभयो ।
****
मैले स्टेफन हार्पर अध्यक्ष भएको क्यानाडाको सत्तारुढ कन्जरभेटिभ पार्टीको सदस्यता लिएर अल्र्बटा राज्यमा पार्टीको सक्रिय सदस्यका रुपमा भूमिका निर्वाह गरिरहेको छु । राजनीतिमा सक्रिय रहने मेरो योजना छ । क्यानाडामा नेपाली मूलको क्यानाडियन भएर मेरो जन्म देश नेपालप्रति पनि समर्पित हुने मेरो उद्देश्य छ ।
****
मैले सन् २०१० मा पेम्बासँग पुनः सम्पर्क गरें । पेम्बाले सगरमाथा आरोहणका लागि सहयोग गर्ने बचन दिए । सन् २०१२ डिसेम्बरमा नेपाल आएँ । सन् २०१३ को मार्चमा दोलखाको ६ हजार उचाइको रामदुङ हिमालको पुनः सफल आरोहण गरेको थिए । बैशाख १८ गते म सहितको ८ सदस्यीय सगरमाथा आरोहण टोली लुक्ला प्रस्थान गर्यो ।
****
६ दिनको पैदल यात्रापछि बेस क्याम्प पुगियो । बेसक्याम्पको केही दिनको अभ्यास पछि बैशाख ३१ गते हाम्रो टोली सगरमाथाको चुचुरो आरोहणको लागि प्रस्थान गर्यो । जेठ ६ गते ९ बजेर २५ मिनेट जाँदा हात विना नै सगरमाथा चुचुरोमा पुगी मैले कीर्तिमानी कायम गरेँ । यो आरोहणबाट मानिसले चाहेमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा पुष्टि भएको मैले बुझेको छु ।
सायद पेम्बा दोर्जे शेर्पा र फुर्वा तेन्जिङ शेर्पा मेरो टिम लिडर नभएको भए मेरो लागि सगरमाथा आरोहण सम्भव थिएन । अन्तमा यस सगरमाथा आरोहणमा संसारभरका अपांग मित्रहरुको प्रतिनिधित्व गर्दै ‘अपांगता अक्षमता होइन’ भन्ने कुरा संसारभर फैलाउन चाहन्छु ।
सुदर्शन गौतमको सगरमाथा आरोहणका क्रममा खिचिएका तस्बिरहरुः
तस्बिर सौजन्यः खाङ्ग्री मिडिया समूह
No comments:
Post a Comment