Saturday, 25 May 2013

ट्रेनको ठक्करबाट एक नेपाली गम्भिर घाइते

ट्रेनको ठक्करबाट एक नेपाली गम्भिर घाइते
दक्षिण कोरिया
दक्षिण कोरियाको सोयोसानस्थित छाला कम्पनी (ख्वाङ जङ) मा कार्यरत एक नेपाली ट्रेनको ठक्करबाट गम्भिर घाइते भएका छन् । २०१२ मे २८ तारिखका दिन दक्षिण कोरिया आइपुगेका नुवाकोट जिल्ला मदनपुर गाविस वडा नं. ७ स्थायी घर भएका २६ वर्षिया रन्जित लामा ट्रेनसँग ठोक्किदा गम्भिर घाइते भएका हुन् । गत मे १८ तारिख शनिबारका दिन कम्पनीबाट काम सकेर साइकलमा कोठातर्फ जाँदै गर्दाको अवस्थामा सडकसँगै जोडिएको ट्रेनको लिकमा अकस्मात् ट्रेन आएपछि साइकलको ब्रेक लगाउँदा पानी परिरहेको अवस्था भएकोले साइकल चिप्लिएर ट्रेनसँग ठोक्किन पुगेको थियो । बाटोमा लडिरहेको अवस्थामा उनलाई स्थानीय मानिसहरुले एम्बुलेन्समा अस्पताल पुर्याएका थिए ।
उनको बाँया हातको कुम खुस्किएको छ भने मेरुदण्डबाट फैलिएको दुईवटा करङ भाच्चिएको छ । हाल उनलाई सोयोसानस्थित स्थानीय छोङआन सङमो अस्पतालमा राखिएको र उनको सामान्य उपचार चलिरहेको छ । स्थानीय अस्पतालले उनको तुरुन्तै अपरेसन गर्नुपर्ने र थप उपचारको लागि अर्काे अस्पताल लैजानुपर्ने भनेको छ । तर उनको कम्पनीको साहूले उपचार गर्नको लागि आनकानी गरिरहेको र कोरियामा भन्दा नेपालमा उपचार सस्तो हुने भनेकोले नेपाल लैजान जोड गरेको बौद्ध परिवारका सचिव प्रितम गुरुङले हेनेको सम्वाददातालाई बताए । घाइते लामालाई स्थानीय मानिसहरुले अस्पताल पुर्याउँदा भर्ना गर्नको लागि ५ लाख वन अस्पतालले डिपोजिट मागेको थियो । उक्त डिपोजिट रकमको लागि कम्पनी मालिकलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन नखोजेको र सो डिपोजिट रकम समेत तिर्न अस्विकार गरेको कारण घाइते अस्पताल पुगेको १ घण्टासम्म भर्ना हुन सकेको थिएन । पछि घाइते लामा काम गर्ने कम्पनी नजिकैको साथी टोप बहादुर गुरुङको साथीको साहुले डिपोजिट रकम तिरेपछि मात्र उनको भर्ना भएको थियो ।
“उनी अहिले अस्पतालमा एक्लै छन् । उनका साथीहरु काम गर्नुपर्ने भएकोले उनी मुस्किलले ट्वाइलेट जान र आउन मात्र सक्छन्” सचिव गुरुङ भन्छन् । उनको अवस्थाको बारेमा दक्षिण कोरियस्थित नेपाली राजदूतावासमा पनि खबर गरिसकेको र श्रम सहचारी अनिल गुरुङले अस्पतालमा उनको अवस्थाको बारेमा जानकारी लिने बताएको पनि सचिव गुरुङले जानकारी दिए । 

No comments:

Post a Comment